
कञ्चनपुुरमा आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । ‘शुक्लाफाँटा घुम्न जाउँ, प्रकृतिसँग रमाऔं’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि आठौं शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । भीमदत्त नगरपालिकाको आयोजनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज परिसरमा सात दिने शुक्लाफाँटा पर्यटन महोत्सव २०८१ को भव्य उद्घाटन गरिएको हो । उक्त महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले पर्यटनका माध्यमबाट आम्दानी वृद्धि गर्न यस्ता महोत्सव सराहनीय भएको बताएका छन्। उनले तीनै तहका सरकारको संयुक्त साझेदारीमा पर्यटकीय कामकाज अघि बढाउनुपर्नेमा जोड दिए।
यसैगरी भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्टीय निकुञ्ज जिल्लाका अन्य पालिकाहरुसँग जोडिएको भए पनि भीमदत्त नगर जेठो पालिका भएकाले आफैंले दायित्व लिएर कार्यक्रम सञ्चालन गरेको बताए। मेयर बोगटीले पर्यटकीय सम्भावना बोकेको शुक्लाफाँटामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए। भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले पनि विगतका वर्षहरु जस्तै यस वर्ष पनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताए। उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रवर्द्धनका लागि सरोकारवालासँग समन्वय गरेर महोत्सव आयोजना गरिएको जानकारी दिए।
सात दिनसम्म चल्ने महोत्सवमा हरेक दिन फरक फरक कार्यक्रमहरु आयोजना गरिनेछन् । पहिलो दिन सुदूरपश्चिमको लोकसंस्कृति झल्काउने झाँकी प्रदर्शन गरिएको थियो। दोस्रो दिन भारतीय पत्रकारहरुका लागि निकुञ्ज भ्रमण, तेस्रो दिन एयरपोर्टदेखि निकुञ्जसम्म सरसफाइ अभियान, चौथो दिन डिजिटल प्रवर्द्धन, पाँचौं दिन निबन्ध प्रतियोगिता, छैटौं दिन पर्यटन सम्बन्धी छलफल र सातौं दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरी महोत्सव सम्पन्न गरिनेछ।
फागुन १२ गतेदेखि महेन्द्रनगर खुला मञ्चमा हुने महोत्सवमा आउने राष्ट्रिय कलाकारहरुलाई निकुञ्ज अवलोकन गराइने पनि भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष केसीले बताएका छन् । राष्टीय कलाकारहरुलाइ निकुञ्ज अवलोकन गराएपछि उहाँहरुबाट पनि थप प्रचारप्रसार हुने उपाध्यक्ष केसीको भनाइ छ । यस्तै प्रवक्ता पदमराज अवस्थीले पर्यटकीय सम्भावना बोकेको निकुञ्जमा पर्यटकको संख्या वृद्धि गर्दै यहाँको आर्थिक वृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए। प्रवक्ता अवस्थीले कञ्चनपुरकै हितका लागि महोत्सव आयोजना गरिएको बताए। महोत्सवलाई थप स्तरीय बनाउन र पर्यटकीय गन्तव्य बनाउन नागरिक स्तरबाटै सुझाव आएको उनले जानकारी दिए।
महोत्सवले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई उजागर गर्ने लक्ष्य राखेको छ। यसले स्थानीय पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने र कञ्चनपुरको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ।