बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ बर्षीय कर्णबहादुर बिष्टलाई बैतडी प्रहरीले भारतको बल्लकोटबाट पक्रीन सफल भएको छ। गएको शनिबार गाउँकै भाइ नाता पर्ने २५ बर्षीय सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरी फरार भएका बिष्टलाई दार्चुलाको दत्तुबाट २० किलोमिटर पारी भारततिरको पिथौरागढ जिल्लाको बल्लकोटमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिए।
फरार कर्णलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न सफल भएको प्रवक्ता प्रहरी निरीक्षक बडुले बताए। कर्णले बन्दुक खोलामा फालेको प्रारम्भिक बयान दिएका छन्। फालेको भनिएको बन्दुक खोज्न खोचलेक प्रहरी त्यसतर्फ गएको बडुले बताए।
उनका अनुसार अहिले कर्णलाई जिल्ला प्रहरी कार्यालय बैतडी पुर्याइएको छ भने उनलाई बैतडी हिरासतमा राखिएको छ। अब अनुसन्धानको कामअघि बढ्ने उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालय बैतडी र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त टोलीले कर्णलाई पक्राउ गरेको हो।
सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबलाई पक्राउ गर्न सादा पोशाका प्रहरी समेत खटिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा कर्णले सुरेन्द्रलाई योजना बनाएर गोली हानी हत्या गरेको बुझिएको छ। कर्णले गोली प्रहार गर्नुअघि आफ्ना दाजुलाई कल गरेको देखिएको जनाइएको छ, भने घटना घटेपछि दोगडाकेदार गाउँपालिका-८ का पूर्ववडाध्यक्ष भक्त बहादुर विष्टलाई कल गरेको समेत देखिएको बताइन्छ। भक्तबहादुर नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन्।
कर्ण गोली हानेर सुरेन्द्रको हत्या गरेपछि जमाडी नदी हुँदै दार्चुलाबाट भारत छिरेको बताइएको छ। कर्णले खानेकुरा बोकेर गएको जनाइएको छ। उनीसँग बिस्कुट र चाउचाउ भेटिएको छ। लेनदेनका बिषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए। हत्यापछि बन्दुकसहित फरार रहेका बिष्टको खोजीका लागि प्रहरी टोली खटिएको थियो।
कर्णले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो। सोही बिषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका थिए। कर्ण गाउँमा स्याल उपनामले परिचित थिए। बन्दुक समातेर जंगली जनावरको सिकार गर्ने कर्ण गाउँमा आफुलाई चलाख देखाउने बानीका कारण स्याल उपनामले परिचित रहेका उनका आफन्तहरु बताउँछन्।
जीप व्यवसायी सुरेन्द्रको हत्यापछि उनको परिवार विचल्लीमा परेको छ। सात महिना अघिमात्रै विवाह बन्धनमा बाँधिएका सुरेन्द्रको हत्यापछि उनकी श्रीमती र घरपरिवारलाई निकै समस्या भएको मृतकका दाजु अम्मर विष्टले बताए। अम्मर प्रहरीसँगै खोजतलासमा गएका थिए। उनी हाल काठमाडौँ प्रहरी वृतमा नयाँ बानेश्वरमा कार्यरत प्रहरी जवान हुन्।