बैतडी ‘पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा

पवन औजी
बैतडीलाई ‘पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको छ । १६ देखि ५९ महिनासम्मका १३ हजार १ सय ४८ जना बालबालिकालाई आवश्यक खोपहरू उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको हो ।

एक कार्यक्रमका बिच बैतडीका १० जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित प्रमुख डा. खगेन्द्रबहादुर बमले पूर्ण खोप दिगोपनको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामिलाई हस्तान्तरण गर्दै आगामी दिनहरूमा पनि खोप सुनिश्चिततामा थप जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।

खोप सेवाको सुदृढीकरणका लागि प्रभावकारी रणनीति अपनाइएको जनाइएको छ । घरधुरी सर्वेक्षण, प्रतिवेदन विश्लेषण, सुक्ष्म योजना अद्यावधिक तथा छुट बालबालिकालाई समेत खोप सेवा दिने कार्यक्रमलाई निरन्तरता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिश प्रसाद भट्टले जानकारी दिनुभयो ।

विगतका वर्षहरूमा बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा कमी, पोलियो नियन्त्रण, टाइफाइड, हेपाटाइटिस बी लगायत खोपद्वारा रोक्न सकिने रोगहरूमा उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ ।

हाल बैतडीमा ३ सय २४ वटा खोप केन्द्र सञ्चालनमा छन् भने १० वटै स्थानीय तहमा खोप भण्डारणका लागि उपकेन्द्र स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *