कैलाली :- सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा जनलहर देखिएको छ। पार्टीले रवि लामिछानेमाथि भइरहेको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध चलाएको हस्ताक्षर अभियानमा जिल्लाबाट १ लाख ४ हजार ५ सय भन्दा बढीले हस्ताक्षर गरेका छन्।
कैलाली रास्वपाका जिल्ला सभापति महेश कुमार चौधरीले दिएको जानकारीअनुसार गत असार ७ गतेदेखि सुरु भएको अभियानमा यो संख्यामा हस्ताक्षर संकलन भएको हो। छोटो समयमै ठूलो संख्यामा जनताको समर्थन पाउनुले जिल्लामा रास्वपाको लोकप्रियता तीव्र रूपमा बढिरहेको देखिएको छ।
पाँच निर्वाचन क्षेत्र, १३ पालिका र १२६ वटा वडा रहेको थारु बाहुल्य जिल्ला कैलालीमा विभिन्न जातजाति र भेषभूषाका मानिसहरु मिलेर बसेका छन्। पछिल्लो समय स्थापित अन्य दलहरूलाई पछि पार्दै रास्वपाले यहाँका युवा तथा जनमानसको मन जित्न सफल भएको छ।
पार्टी सभापति लामिछानेमाथि भइरहेका आरोप र राजनीतिक घटनाक्रमलाई जनताले राजनीतिक प्रतिशोधका रूपमा लिएको र त्यसैको विरोधस्वरूप हस्ताक्षर अभियानमा उल्लेख्य सहभागिता जनाएको जिल्ला सभापति चौधरीले बताए। यस अभियानले कैलालीमा पार्टीको पकड थप बलियो बनेको देखाएको छ।